काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘‘मलाईमात्रै होईन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाईएको छ । अब अधिकार प्राप्तिको लागि मेरो नेतृत्वमा संघर्ष समिति बनाउँछु।’

उनले भनिन्,‘संविधानले दिएको अधिकार हामीले उपयोग गर्न पाउनुपर्छ । अब अधिकारविहीन उप–प्रमुखको काम छैन । देशैभरिबाट उपप्रमुखहरुले मलाई फोनमा समेत गुनासो पोख्नुभएको छ । मैले त अधिकार पाएको छैन । त्यसैले अब म संघर्ष समिति बनाएर अघि बढ्ने पक्षमा छु ।’

उनले अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्न उत्तम हुने सुझाव दिईन् । अधिकार नपाएकोमा आक्रोश पोख्दै खड्गीले अघि थपिन्,‘अहिले देशभैरि उपप्रमुख अधिकांश महिला साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि मैलेजस्तै अधिकार पाउनुभएको छैन । अधिकार नपाए यो पद नै खारेज गरे हुन्छ । मैले यो मेरो लागि भनेको होईन । भोलि आउने उपमेयरको लागि पनि अधिकार हुनुपर्छ भनेको हुँ।’

संविधानले उपमेयरलाई विभिन्न ८ वटा अधिकार दिएको उल्लेख गर्दै आफूले ७ वटा अधिकार ईमानदारपूर्वक उपयोग गरेको बताईन् । उनले भनिन्,‘८ वटामध्ये एउटा अधिकार चाहीँ मैले उपयोग गर्न पाएको छैन । अनुगमन समिति बनाउनुपर्ने छ । मलाई काम गर्ने मौका चाहिएको छ । म सूचारु रुपमा काम गर्न चाहन्छु । सम्पूर्ण अधिकार मेयरसापमा छ । मैले त एक रुपैयाँ पनि बजेट चलाएको छैन।’

उपप्रमुख खड्गीले मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरु पुरिने समेत जिकिर गरिन् । उनले थपिन्,‘मेयरले चाहने हो भने दशैंअघि नै काठमाडौंका खाल्डाखुल्डीहरु पुरिन्छन् । तर चाहनुपर्यो । म सँग त अधिकार छैन् ।’

रानीपोखरी र धरहराको पूनर्निर्माणमा सम्पदा जोगाउनको लागि आफूले अडान लिएको पनि उनको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here