भक्तपुर । भक्तपुरका दुई निजि विद्यालयहरु एक भएका छन् ।
भक्तपुर नगरपालिका वडा नं. १० मा रहेको रोम्बस नेशनल सेकेण्डरी स्कुल र नियोलोजियन स्कुल एक भएका हुन् । एक भएपछिको तिनीहरुको नाम रोम्बस नियोलोजियन नेशनल स्कुल भएको छ । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा दुबै विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुले सोको जानकारी दिए ।
फरक फरक व्यवस्थापन र फरक अस्तित्वमा सञ्चालित ती विद्यालयहरु एक भएको जानकारी दिन आयोजित विद्यालय एकता तथा समायोजन घोषणा एवं साक्षात्कार कार्यक्रममा दुबै पक्षले विद्यालय एक भएको बताउँदै विद्यालयलाई भक्तपुरका अन्य निजि विद्यालयहरुभन्दा पृथक तरिकाले सञ्चालन गर्ने बताए ।
उनीहरुले आफूहरु एकै ठाउँमा रहेर विद्यालय सञ्चालन गरिरहे पनि आफूहरुको उद्देश्य साझा भएको उद्घोष गर्दै भक्तपुरमा नमूना विद्यालयको आवश्यकता पूरा गर्नका लागि एक भएको रोम्बस सेकेण्डरी स्कुलका प्रिन्सिपल राजेन्द्र कोजू र नियोलोजियन एकेडेमीमा प्रिन्सिपल सीता तिमल्सिनाले जानकार दिएका थिए ।
प्रिन्सिपल तिमल्सिनाले नयाँ व्यवस्थापनमा सञ्चालन हुने सो विद्यालयको प्रिन्सिपलको जिम्मा भने रोम्बस स्कुलका प्रअ कोजूलाई दिइएको बताउँदै भनिन्, ‘दुई विद्यालयहरु फरक फरक तरिकाले सञ्चालन हुँदा थोरै अफ्ठ्यारो, थोरै गाह्रो भइरहेको थियो, अब हामी एक भएका छौं, हामी हाम्रो शैक्षिक कार्यदिशा एउटै बनाएर अघि बढ्ने सोच र योजना बनाएका छौं ।’
प्रिन्सिपल तिमल्सिनाले सो कुरा बताइन् भने प्रिन्सिपल कोजूले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र तथा भक्तपुरलाई एक उत्कृष्ट शैक्षिक गन्तव्यलाई सार्थक बनाउनका लागि आफूहरु एक ठाउँमा आएको जनाए ।
‘हामी एक भएका छौं, अभिभावकले खोजेको शिक्षा प्रदान गर्न र अभिभावकले खोजेको विद्यालय बनाउने सपनालाई साकार बनाउन हामी कटिवद्ध छौं ।’प्रिन्सिपल कोजूले भने ।
सो कार्यक्रममा जोरपाटी मावि भक्तपुरका प्रधानाध्यापक तथा रोम्बस स्कुलका सल्लाहकार हरिप्रसाद ढकालले दुई विद्यालय एक भएकोमा शुभकामना व्यक्त गर्दै अभिभावकलाई मार नपार्ने किसिमबाट विद्यालय सञ्चालन हुनुपर्ने सुझाव दिएका थिए ।
दुई विद्यालय सञ्चालकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा भएको उक्त एकता तथा समायोजन कार्यक्रममा नियोलोजियन एकेडेमीका यादवप्रसाद खकुरेल, संस्थापक अध्यक्ष अनिता शाह ढुंगाना, रोम्बस स्कुलका संस्थापक सरिता कोजूलगायतले विद्यालयको योजनाबारेमा चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here