दक्षिण कोरिया- लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन् |

उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा कार्यरत छन् । न्यौपाने भन्छन्, “नेपालमा भनेजति कोरियामा काम गर्न सजिलो छैन, भोग्नेलाई मात्रै यहाँको गाह्रो थाहा छ ।”

विश्वका १६ देशबाट आप्रावासी अदक्ष कामदार भित्र्याएर कोरियाले काममा लगाउँछ । सबै देशबाट आएकाहरूको दिनचर्या रमेशकोभन्दा फरक छैन ।

ईपीएसमार्फत् ‘कृषि भिषा’मा करिब आठ महिना अगाडि कोरिया आएका न्यौपाने महिनाका दुई शनिबारवाहेक अन्य दिन घाम–पानी, धुवा–धुलो, चिसो थकाइ र दुख्यो केही भन्न पाउँदैनन् । उनी मासिक नेपाली रूपैयाँ करिब एक लाख २० हजार आर्जन गर्छन् । “महँगीले खबै खर्च कटाएर एक लाख रूपैयाँ बचत गर्छु,” न्यौपानेले भने ।

“कृषि भिषामा यहाँ काम गर्न अति गाह्रो छ । विहान उठेदेखि बेलुकी नसुतुन्जेल गोरुले जोतिएझै जोतिनुपर्छ, न खाना न त बस्नकै राम्रो ब्यवस्था, त्यसैमाथि साहुको व्यवहारले दिक्क बनाउँछ,” अनुहार मलिन बनाउँदै काभ्रेका विनोद ढकालले भने, “नआउनु थियो, आइहालियो अब केही वर्ष दुःख गर्छु, नेपाल फर्कन्छु र तरकारी व्यवसाय नै गर्छु ।”

फिनेल हाउसमा गाह्रो भएर काम परिवर्तन गर्न साहुसँग अनुमतिपत्र माग्दा नपाएपछि झापाका किरण शर्माले साहुलाई एक महिनाको कमाइ बुझाए, कारोबारमा खबर छ । अनि मात्र काम सर्ने अनुमति पत्र पाए । अहिले उनी कुखुरा फार्ममा कार्यरत छन् ।

विहान उठेदेखि बेलुकी नसुतेसम्म हजारौं कुखुराको रेखदेख गर्नु, दानापानी दिनु र अण्डा उठाउनु उनको दैनिकी हो । “नेपालमा जे सोचियो, त्यसको ठिक विपरित भोगियो, कृषि भिसावालालाई कोरियाले ठगेको छ,” उनी भन्छन् ।

कोरियाको औद्योगिक क्षेत्रको रूपमा चिनिने थेगुस्थित सुँगुर फार्ममा कार्यरत पर्वतका कृष्ण नेपाली (२४‚ बस्तीभन्दा केही टाढा जंगलनजिकै फार्ममा काम गर्छन् । “सहर त धेरै टाढा छ, यो ठाउँमा आउँनका लागि ठूलो संघर्ष गरियो । केके न पाइएला जस्तो लाग्थ्यो । तर अहिले व्यर्थ लाग्दैछ,” भाइबरबाट उनले भने ।

Loading...

Leave a Reply