नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनिसकेको अवस्थामा अब एउटै पार्टीको अभ्यास गर्न केही समय लाग्छ । त्यहाँभित्र दुई समूहको अस्तित्व धेरै लामो समय राखिरहनु हुँदैन । संगठनभित्र ठूलो समस्या आउने खालको अवस्था देखिन्न । तर, हामीले विशेषगरी मूल नेतृत्वले पार्टी सन्चालनमा कुशलता देखाउन सक्नुपर्छ ।

गुट के होलान् ?

गुट भन्ने कुरा त हिजो पनि थिए र भोलि पनि हुन्छन् । हिजो एमालेभित्र पनि गुट थिए, माओवादीभित्र पनि थिए । भोलि पनि यो गुटबन्दी अन्त्य हुँदैन । राजनीति भनेको स्वार्थ समूह हो । जब त्यहाँ स्वार्थ हुन्छ भने बिचार मिल्नेहरु एक ठाउँमा हुन्छन् ।

विचार नमिल्नेहरु वा बिरोधीहरु अर्को गुट बनाउँछन् । तर गुट बनेको वा बनाइएकै आधारमा पार्टीमा फरक व्यवहार गर्नु हुँदैन । नेतृत्वको कुशलता भनेकै त्यसको व्यवस्थापन कसरी गर्ने भनेर देखिन्छ । पार्टी नेतृत्वमा सबैका विचार, राय र योगदानलाई भ्याकेट हुन दिने अवस्था भयो भने कुशल व्यवस्थापन हुन्छ ।

हिजो एमाले र माओवादीमा रहेका हामी अलग संस्कार, अभ्यास र अलग काम गर्दै आयौं । अब गर्ने काम चाहिँ एउटै छ, निर्वाचन गर्ने चुनाव जित्ने, पार्टीलाई शक्तिशाली बनाउने र सरकारमा पुगेर जनताको हितमा काम गर्ने । देशलाई सबैभन्दा माथि राखेर सोच्ने हो भने पार्टीभित्र गुटहरु बन्ने र भत्किने कुराले केही असर गर्दैन । अब हामीले अगाडि जाँदा देशलाई नम्बर एकमा राख्नुपर्छ । पार्टीमा नेता त परिवर्तन हुन्छन् । गुटमा पनि हेरफेर हुन्छन् ।

एमाले र माओवादीका नेतृत्व अभ्यास

दुई पार्टीको इतिहास हेर्ने हो भने पनि यस्तो देखिन्छ । हिजो तत्कालिन एमालेमा एउटै व्यक्ति नेता बनेर बसेको अवस्था छैन । २०३२ सालमा कोअर्डिनेशन केन्द्र गठन हुँदा सीपी मैनाली सचिव बन्नुभयो । २०३५ मा नेकपा माले बनेपछि उहाँ महासचिव हुनुभयो ।

२०३९ सालमा आउँदा झलनाथ महासचिव र २०४६ मा आउँदा मदन भण्डारी महासचिव बन्नुभयो । २०५१ देखि माधव नेपाल महासचिव बन्नुभयो । २०६४ मा आउँदा झलनाथ पुनः कार्यवाहक महासचिव र अध्यक्ष बन्नुभयो । २०७० मा आउँदा केपी ओली अध्यक्ष बन्नुभयो । एउटै व्यक्ति अलि लामो समय माधव नेपाल नेतृत्वमा बस्नुभयो । तर एमलोमा सामान्यतः एउटै व्यक्ति लामो समय पार्टीको प्रमुख भएको अवस्था थिएन ।

अध्यक्षमा केपी ओली नदाहोरिने कुरा आएको छ । उहाँले पटकपटक अब हुँदैन भन्नुभएको छ । तर त्यतिबेलासम्म के गर्नुहुन्छ भन्न सकिँदैन । उहाँ अहिले पनि निर्णायक नेता नै हो । भोलि उहाँ नदोहोरिने अवस्थामा तटस्थ भूमिका खेल्नुभयो भने यो आन्दोलनको सबैभन्दा हाइटको नेता बन्नुहुुन्छ

तर माओवादीतिर फरक रह्यो । २०४४ सालतिर हुनुपर्छ कमरेड प्रचण्ड तत्कालिन नेकपा मशालको महामन्त्री हुनुभयो । त्यसपछि बिभिन्न धारका कम्युनिस्टहरु एकीकरण र फुटबाट गुज्रिँदै नेकपा माओवादीको अध्यक्ष बन्नुभयो । आजसम्म पनि उहाँ त्यहि पदमा रहनुभयो । अर्थात एमालेमा र माओवादीमा फरक खालको नेतृत्वको अभ्यास गर्दै हामी आयौं ।

संगठनमा एमाले अपडेट, माओवादी लथालिंग

नेतृत्वमा जस्तै संगठन सम्बन्धी अभ्यास पनि हाम्रो फरक–फरक देखियो । अब एउटै अभ्यासमा जानुपर्ने अवस्था छ । कमिटीहरु संगठनहरु एउटै बनाउँदा हामी कुन अभ्यासमा जाँदा बढी सान्दर्भिक होला भन्ने सोच्दैछौं । माओवादीले अभ्यास गरेको मोडल ठीक कि एमालेले अभ्यास गरेको मोडल ठीक भन्ने बारेमा छलफल हुन्छ ।

एमालेको सन्दर्भमा २०४८ देखि आजसम्मको रेकर्ड हेर्न पार्टी कार्यालयमा जानुभयो भने सबैको तीन पुस्ते पाइन्छ । कुन व्यक्ति कुन मितिमा पार्टी सदस्य, कुन व्यक्ति कुन मितिमा जिल्ला कमिटीमा आयो, कुन व्यक्ति कुन महाधिवेशनमा प्रतिनिधि भयो, कुन व्यक्ति कुन केन्द्रीय कमिटीमा आइपुग्यो सबैको रेकर्ड छ ।

यतिको डाटा अपडेट भएको पार्टी चाहिँ कुनै छैन । अबको अभ्यास हिजो माओवादीले गरेको जस्तो गर्ने कि एमालेले गरेको जस्तो ? यसमा हामी छलफलमै छौं । जस्तो कि माओवादीमा विभिन्न पार्टीहरु फुट्ने र जुट्ने क्रममा अहिले कमिटी नै रहेछन् । कसैको कुनै रेकर्ड नै छैन । को पार्टीमा छ छैन पनि अपडेट भएको छैन ।

पूर्व माओवादीमा केही संरचना नै रहेनछन् । मैले कुनै आरोप लगाएको होइन । संगठन सञ्चालन विधीका सन्दर्भमा हिजोको माओवादी केन्द्रको बाटोमा गइयो भने त यो सर्वनाशतिर जान्छ । त्यो त विधि नै होइन नि । तथ्य तथ्यांक केही छैन । मान्छेले सम्झेको भरमा फलानो व्यक्ति फलानो कमिटीमा थियो भनेर त हुन्न नि ।

एउटा निश्चित विधिबाट पार्टी चल्नुपर्छ । तत्कालीन एमालेको पनि कयौं कमजोरी थिए । अब पार्टी चलाउने सन्दर्भमा दुवैतिरका राम्रा अभ्यास र अनुभवहरुलाई ग्रहण गर्ने नराम्रा अभ्यास छाड्ने नै हो । यसरी गयौं भने नेपाल कम्युनिस्ट पार्टीको भविष्य राम्रो छ ।

एमाले–माओवादी फ्यूजन

अब पार्टी एक भइसकेपछि हामी हिजोका एमाले र हिजोका माओवादीबीच अन्तरघुलन नभइ सुख छैन । दुईटा पार्टी एक ठाउँमा आएपछि हिजो हाम्रो यस्तो थियो भनेर हुँदैन । समयक्रममा मान्छेहरु मिक्सअप हुन्छन् । एक अर्काका कुरा थाहा पाउनुपर्छ । एउटा डल्लो भएपछि त्यसमा स्वतन्त्र अस्तित्व रहँदैन । दुई केमिकल मिलेपछि तेस्रो वस्तु बन्छ भनेजस्तै हो यो पनि । पूर्वएमाले र पूर्वमाओवादी भन्ने अभ्यास धेरै लामो समय रहँदैन ।

अर्को कुरा केपी शर्मा ओली र प्रचण्डले जे चाह्यो, पूर्वएमाले र पूर्वमाओवादीको त्यहि हुन्छ भन्ने कतिपयको आशंका छ । अब त्यो बिल्कुल हुँदैन । एउटा कुरा के भने यो धर्ती रहेसम्म दुई नेता बाँचिरहने पनि होइन । हामीले सन्ततिलाई एउटा राम्रो र सिस्टममा चलेको पार्टी दिनुपर्छ । उहाँहरुले विधिमा हिँडेको पार्टी जिम्मा लाउनुपर्छ ।

महाधिवेशनमा सहमति भन्नुको अर्थ अब माथिबाट नेताले खुरुखुरु नाम भनेर ती नाम स्वीकार्य हुँदैनन् । नेताले नाम भनेर ताली बजाउने अवस्था अब रहँदैन

यत्रा धेरै मान्छे यो पार्टीमा छन् । कतिपयले भर्खर यो पार्टीमा भविष्य निर्माण गर्दैछन् । नेतृत्वले छरपस्ट पार्टी होइन, व्यवस्थित पार्टी जिम्मा लाउनुपर्छ । हामीले राम्रो उद्देश्यका लागि पार्टी एकताका सन्दर्भमा दुई नेतालाई जिम्मा लगाएको हो । दुई जनालाई अलि बढी गृहकार्य गर्न जिम्मा लगाएको हो । तर अब त्यो हुनेवाला छैन, सबै कुरा पार्टी प्रणालीबाट चल्नुपर्छ ।

बरियता र अर्को पुस्ताको नेता तोक्ने कुरा

यसबीचमा कम्युनिस्ट पार्टीमा बरियताको विवाद पनि आएको छ । बरियतामा चाहिँ ठूलो कुरा भएन । बरियता भन्ने कुरा समय सन्दर्भको कुरा हो । तत्कालीन एमालेकै कुरा गर्दा निर्वाचनबाट आउँदा कतिपय मभन्दा जुनियर मान्छे पनि माथि पुगे । कतिपय सन्दर्भमा म पनि सिनियर भएर आएँ होला ।

बरियता चाहिँ एकसमान रहँदैन । व्यक्तिको योगदान, क्रियाशीलता, आवश्यकता र क्षमताले पनि बरियता निर्धारण गर्छ । तर, दुईजना नेता मिलेर पँजनी गर्दिन्छन् कि भन्ने त्रास राख्नु भएन । बरियतालाई यान्त्रिक रुपमा हेर्नु हुँदैन तर, निगाहको विषय बनाउनु पनि हुँदैन ।

नेपाल कम्युनिस्ट पार्टीमा बरियता तोक्ने वा नतोक्ने दुवै अभ्यास भएका छन् । हामीले नतोकेर चलायौं, कसैले तोकेर चलाए । हामीले बरियता नतोक्नुको पछाडि पार्टी स्थिर नभइसकेकाले हो । हामी बिभिन्न आन्दोलन र क्रान्तिबाट आयौं । राजनीतिक रुपमा पार्टी स्थिर नभइसकेको कारण बरियता तोकिएन । अब के गर्ने भन्ने सन्दर्भमा छलफल हुन्छ ।

हिजो कम्युनिस्ट आन्दोलनमा बिभिन्न अभ्यास भए । मार्क्स नेता होइन, दार्शनिक हुनुहुन्थ्यो । एंगेल्सको हकमा पनि त्यहि हो । पार्टीको अभ्यास सोभियत युनियनमा पहिलो पटक भयो । लेनिनको पालामा पार्टीको अभ्यास भयो तर उहाँ राष्ट्रपति भएको केही समयपछि बित्नुभयो । उत्तराधिकारीको बहस नहुँदै स्टालिन बाँचुन्जेल नेता बन्नुभयो । ब्रेजनेभ पनि बाँचुन्जेल भए ।

कम्युनिस्ट पार्टीको अभ्यास शोभियत युनियनबाट भएकाले यहि गर्नुपर्ने रहेछ भन्ने परेकाले धेरै देशमा बाँचुन्जेल नेता बन्ने देखियो । माओको कुरा गरौं वा उत्तर कोरियाको । उत्तर कोरियामा त बाबुपछि छोरो र छोरोपछि नातिमा आयो । क्युबामा पनि फिडेल क्यास्ट्रो बाँचुन्जेल नेता भए र अहिले भाइमा हस्तान्तरण भयो ।

संगठन सञ्चालन विधीका सन्दर्भमा हिजोको माओवादी केन्द्रको बाटोमा गइयो भने त यो सर्वनाशतिर जान्छ । त्यो त विधि नै होइन नि । तथ्य तथ्यांक केही छैन । मान्छेले सम्झेको भरमा फलानो व्यक्ति फलानो कमिटीमा थियो भनेर त हुन्न नि

चीनमा देङ सियाओ पिङले फरक अभ्यास गर्नुपर्छ भनेर बरियता तोक्ने जस्तो अभ्यास गरियो । एउटै नेता सधैं रहने अवस्था भएन । देङ आफैं पनि यसबाट पीडित नेता भएकाले नयाँ अभ्यास गरेकै हो । अब नेपालमा के गर्ने भन्ने सन्दर्भमा हामी नयाँ मोडमा आएका छौं । मैले माथि नै भनें एमालेमा एकखाले अभ्यास भयो एउटै नेता सधैं नेतृत्वमा रहेन । माओवादीमा प्रचण्डको निरन्तरता नै भयो ।

अहिले अब फ्याट्ट नेताहरुले फलानो अर्को पुस्ताको नेता हो भनेर मान्य हुने अवस्था छैन । अहिले कसैलाई बनाउन खोजिए पनि त्यो सम्भव छैन । अहिले पार्टी एकताका सन्दर्भमा नेताहरुको सहमतिमा कसैलाई महासचिव बनाइयो तर, पछि त्यो आधारमा हुँदैन । त्यसको जस्टिफिकेसन पनि हुनुपर्छ ।

व्यक्तिले प्रमोसन हुँदा पनि जस्टिफाई त हुनुपर्छ । अहिले भएको हुनाले सधैं यो नियम दोहोरिन्छ, यहि कायम हुन्छ भन्ने मलाई लाग्दैन । नयाँ पुस्ताको नेता तय गर्ने भनेको महाधिवेशनले हो । त्यसैले अब दुई वर्षभित्र हुने महाधिवेशनले धेरै कुरा तय गर्छ । महाधिवेशनले तय गर्ने बरियता र नेतृत्वका बारेमा अहिले थप चर्चा गर्न आवश्यक छैन ।

महाधिवेशनमा के होला ?

अब दुई वर्षभित्रमा महाधिवेशन गर्नुपर्नेछ । महाधिवेशन सहमतिका आधारमा गर्ने भनिएको छ । सहमति भनेको त चुनाव गर्ने सल्लाह गर्यौं भने पनि त्यो सहमति नै हुन्छ ।

हाम्रो आन्दोलनले एउटा निकास खोज्नुपर्छ भनेर एमालेमा आठौं महाधिवेशनदेखि प्रतिस्पर्धाबाट नेतृत्व स्थापित गर्ने अभ्यास थाल्यौं । नवौं महाधिवेशनमा पनि हामी त्यहि अभ्यास गरेर आयौं । चुनावले केही राम्रो अभ्यास स्थापित गर्दो रहेछ । यो अभ्यासका खराब पक्ष पनि रहेछन् । गुटबन्दी बढ्ने र प्यानलाइज हुने खराब पक्षलाई अन्त गर्ने हो भने भने यो लोकतान्त्रिक विधि अपनाउनु नै राम्रो हुन्छ ।

भोलि महाधिवेशनमा कुरा मिलेन भने एउटालाई अध्यक्ष बनाउन अर्कोले मानेन भने चुनाव गराउँ भन्ने पनि त सहमति नै हुन्छ । अहिले नै म महाधिवेशन केन्द्रित गुट बनिहाल्छन् भन्ने त सोचिरहेको छैन ।

एमालेको सन्दर्भमा २०४८ देखि आजसम्मको रेकर्ड हेर्न पार्टी कार्यालयमा जानुभयो भने सबैको तीन पुस्ते पाइन्छ । कुन व्यक्ति कुन मितिमा पार्टी सदस्य, कुन व्यक्ति कुन मितिमा जिल्ला कमिटीमा आयो, कुन व्यक्ति कुन महाधिवेशनमा प्रतिनिधि भयो, कुन व्यक्ति कुन केन्द्रीय कमिटीमा आइपुग्यो सबैको रेकर्ड छ

महाधिवेशनमा सहमति भन्नुको अर्थ अब माथिबाट नेताले खुरुखुरु नाम भनेर ती नाम स्वीकार्य हुँदैनन् । नेताले नाम भनेर ताली बजाउने अवस्था अब रहँदैन । अबको अध्यक्ष को हो भन्ने कुरामा अहिले जानु जरुरी छैन । किनकी हाम्रो अनुभव हेर्ने हो भने हरेक महाधिवेशनमा गुटहरु फेरिएका छन् । एउटा मान्छे एक ठाउँमा बसेकै छैन । एमालेको पाँचौ महाधिवेशनमा माधव नेपाल, केपी ओली, बामदेव गौतम एक ठाउँमा थिए । २०५४ मा पुग्दा बामदेव अलग भएर गए । सातौं महाधिवेशनमा पुग्दा केपी ओली अलग भए । आठौंमा ओली र माधव नेपाल एक ठाउँमा भए, झलनाथ अर्कोतिर भए । नवौंमा माधव नेपाल र केपी ओलीको प्रतिस्पर्धा भयो ।

ओलीबाट अपेक्षा

अध्यक्षमा केपी ओली नदाहोरिने कुरा आएको छ । उहाँले पटकपटक अब हुँदैन भन्नुभएको छ । तर त्यतिबेलासम्म के गर्नुहुन्छ भन्न सकिँदैन । उहाँ अहिले पनि निर्णायक नेता नै हो । भोलि उहाँ नदोहोरिने अवस्थामा तटस्थ भूमिका खेल्नुभयो भने यो आन्दोलनको सबैभन्दा हाइटको नेता बन्नुहुुन्छ ।

छाड्ने मान्छेले तटस्थ भूमिका देखाउनु राम्रो हुन्छ । यत्रो पार्टी एकता गरेको नेताले पक्षधरता देखाउनु हुँदैन । यद्यपि त्यतिबेलासम्म के हुन्छ भन्न सकिँदैन । उहाँ नदोहोरिने हो भने तटस्थ भूमिका उहाँको लागि राम्रो हुन्छ ।

सचिवालय हाइकमाण्ड होइन

अहिले पार्टीमा केन्द्रीय सचिवालय बनाइयो । पहिलो कुरा त पार्टीको तर्फबाट बिधान मस्यौदा कार्यदल बन्दा सचिवालय राख्ने छलफल नै भएको थिएन । अन्य पदहरु सिर्जना गर्ने कुरा पनि भएको थियो ।

दुईजना अध्यक्ष राख्ने, बाँकी सबै सदस्य रहने कुरा थियो । पूर्वप्रधानमन्त्री र पार्टीको प्रमुख भइसकेका नेतालाई वरिष्ठ नेताको सम्मान दिनेसम्मको कुरा भएको हो ।

पछि उहाँहरुले महासचिव पद पनि राख्नुभयो । केन्द्रीय सचिवालयलाई कतिपयले हाइकमाण्ड पनि भनेका छन् । तर यो हाइकमाण्ड होइन । सचिवालय भनेको निर्णय कार्यान्वयन गराउने निकायसम्म हुनसक्छ । तर कार्यकारी काम गर्ने बैधानिक हाइकमाण्ड स्थायी कमिटी नै हो । सचिवालयलाई हाइकमाण्डको ढंगले चलाउनु पनि हुँदैन ।

(नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँगको कुराकानीमा आधारित)

Loading...

Leave a Reply