काठमाडौं । हिन्दी कथानक चलचित्र ‘सञ्जु’ नेपाल राइट्स खरिद गरिसकेपछि पनि चलाउने कि नचलाउने भन्ने दोधारका बीच प्रदर्शनमा आयो । लामो समयदेखि नेपाली दर्शकमाझ प्रतिक्षित बनेको चलचित्रको टिकटमा छुटका विषयमा कुरा नमिल्दा दर्शकले दरबारमार्गको क्यूज सिनेमाज बाहेक शुक्रबार बिहान र दिउँसोका दुई शो मल्टिप्लेक्समा हेर्न पाएनन् ।

प्रदर्शनको नेपाल राइट्स पाएको चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले प्रदर्शनका लागि नयाँ शर्त राखेपछि मल्टिप्लेक्स सञ्चालकले ‘सञ्जु’ प्रदर्शन गर्न मानेका थिएनन् । मल्टिप्लेक्सहरुले हप्ताको एक दिन सहुलियत दरमा टिकट बिक्री गर्दै आएका छन् । वितरकले उक्त छुट दिन आनाकानी गरेपछि शुक्रबार बिहानैबाट चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । तर पछि यसमा कुरा मिल्यो र ‘सञ्जु’ प्रदर्शनमा आयो ।

नेपालमा एक दिनको टिकटमा छुटका विषयमा विवादका कारण चलचित्र प्रदर्शन नहुँदा उक्त चलचित्रको प्रतिक्षा गरेका दर्शक भने निराश भैसकेका थिए । यसअघि मनिषा कोइराला अभिनित चलचित्र ‘डियर माया’ पनि नेपालका हलमा ट्रेलर बजाएर पनि प्रदर्शन भएको थिएन । ‘सञ्जु’ मा पनि मनिषा कोइरालाको अभिनय रहेको छ ।

नेपालका हलमा चलचित्र प्रदर्शन गर्ने कि नगर्ने भन्ने विवाद चलिरहेका बेला उता बलिउडमा भने ‘सञ्जु’ ले नयाँनयाँ रेकर्ड बनाउन थालिसकेको थियो । बलिउड स्टार खानहरुका चलचित्रका नाममा रहेका रेकर्ड रणवीर कपुरले तोड्न थालिसकेका थिए ।

बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा रणबीर कपुर लिड रोलमा छन् । ‘सञ्जु’ ले पहिलो दिन शुक्रबार ३४.७५, दोस्रो दिन ३८.६० करोड कमाएको थियो । तेस्रो दिनको कलेक्सन रिपोर्टले यसअघिका सबै चलचित्रको रेकर्डलाई तोड्दै पहिलो नम्बरमा आइपुग्यो ।

एनडी टिभीडटकमका अनुसार चलचित्रले तेस्रो दिन ४६.७१ करोड कलेक्सन गर्यो । ‘ट्रेड एनालिस्ट’ तरण आदर्शका अनुसार यो कमाई ‘सञ्जु’ ले सलमान खानको ‘टाइगर जिन्दा हे’ को नाममा रहेको रेकर्डलाई तोडेको हो ।

चलचित्रले प्रदर्शनको तेस्रो दिनमा ४६.७१ करोडको कलेक्सन गरेको छ । ‘बाहुबली–२’ ले पनि ४६.५० करोड कमाएको थियो ।

‘सञ्जु’ बलिउड सुपरस्टार सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक हो । सञ्जय दत्तको भूमिकामा रणवीर कपुरले अभिनय गरेका छन् । उनको कामको चौतर्फी प्रशंसा भइरहेको छ । ‘सञ्जु’ रणबीरको अहिलेसम्मकै सबैभन्दा अब्बल चलचित्र भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘सञ्जु’मा रणवीर कपुरकी आमाको भू्मिकामा मनीषा कोइराला छिन्, जहाँ उनको नाम नरगिस हुन्छ । क्यान्सर जितेपछि दोस्रो इनिङ्सका रुपमा ‘डियर माया’ बाट बलिउडमा प्रवेश गरेकी मनिषाको यो दोस्रो चलचित्र हो । यसमा उनको शानदार अभिनय देख्न सकिन्छ । मनिषाले रियल लाइफमा क्यान्सरलाई जितेकी छिन् तर नरगिस रियल लाइफमा क्यान्सरसँग पराजित पात्र हुन् । त्यसैले उनी सुरुमा यो चरित्रका लागि अफर आएपनि अस्वीकार गर्न गएपनि कन्भिन्स भएर फर्किएकी थिइन् ।

‘सञ्जु’ मा सुनील दत्तको भूमिकामा परेश रावल र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् मने सोनम कपूर र अनुष्का शर्मा पनि छन् । ‘सञ्जु’ लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

उमेरले तीन दशक काट्नेबित्तिकै बलिउड नायिकाहरुलाई आमाको रोल थमाइदिने तर छ दशक काट्दा पनि हिरोहरुले पनि छोरी सरहका नायिकाहरुसँग अनस्क्रिन रोमान्स गर्ने प्रचलनको विरोध गरे पनि मनिषा आमाकै चरित्रमा ‘सञ्जु’ मा उभिएकी छन् ।

नेपालबाट रजतपटको यात्रा सुरु गरेर बलिउडमा स्थापित मनिषाका नेपाली चलचित्र भने धेरै छैनन् । ‘फेरि भेटौंला’ नामक चलचित्रबाट सेतो पर्दाको यात्रा सुरु गरे पनि मनिषा नेपाली दर्शकलाई भेट्न भने करिब दुई दशकपछि मात्रै नेपाल फर्किन् । ‘धर्मा’मा उनले राजेश हमालसँग रोमान्स गरिन् । बलिउड स्टार भए पनि ‘धर्मा’ लाई नेपाली दर्शकले भने रुचाएका थिएनन् ।

Loading...

Leave a Reply