त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक तह पहिलो वर्ष (एलएलबी) भर्नाका लागि प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ।

कोटा प्रणाली नै लागू हुने भएपछि प्रवेश परीक्षा उत्तिर्ण भएकाहरू मात्रै भर्ना हुन पाउने भएका हुन्।

यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको कानून संकाय डिनको कार्यालयले पुनः पहिलेकै कोटा प्रणाली लागू गर्ने भएको हो।

कानून संकायका डिन ताराप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै यसअघि कोटा प्रणाली खारेज गर्ने सहमति विद्यार्थी संगठनको दबाबमा भएकाले उक्त सहमति कार्यान्वयन नहुने जनाए।

यसअघि स्नातक प्रथम वर्षमा भर्ना हुनका लागि कोटा प्रणाली खारेज गर्ने र प्रवेश परीक्षामा सामेल नभएका विद्यार्थीलाई प्रक्रिया पुर्‍याई भर्ना गर्ने सहमति भएको थियो। विद्यार्थी संगठनसँग कोटा प्रणाली खारेज गर्ने सहमतिविरुद्ध डिन कार्यालय तालाबन्दी भएको र नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघ र त्रिवि प्राध्यापक संघ, एकाइ समितिले पनि असहमति जनाएकाले कोटा प्रणाली यथावत् गरी प्रवेश परीक्षा लिएका विद्यार्थीबाट मात्र भर्ना गरिने सापकोटाले बताए।

सहमतिविरुद्ध एलएलबी परीक्षा समितिले सामूहिक राजीनामा र डिन कार्यालयमा तालाबन्दी गरेको थियो। जेठ १९ गते लिइएको प्रवेश परीक्षाको नतिजा चाँडै नै प्रकाशित गरिने उनले बताए। विद्यार्थी संगठनबीचको सहमतिमा असार २१ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्ने र साउनदेखि कक्षा सञ्चालन गर्ने पनि सहमति थियो। कानून संकाय डिनको कार्यालयले भौतिक संरचना र प्राध्यापकको संख्या हेरी यस वर्षदेखि कानून संकायको स्नातक प्रथम वर्षमा कोटा प्रणाली सुरु गरेको छ।

काठमाडौंस्थित नेपाल ल क्याम्पसमा ८०० र उपत्यकाबाहिर रहेका क्याम्पसमा १५० जनाको कोटा तोकिएको छ। यसअघि कोटा प्रणाली लागू गर्दा नेपाल ल क्याम्पसमा ८०० जनाका लागि करिब चार हजार ७०० ले गत जेठ १९ गते प्रवेश परीक्षा दिएका थिए।

Loading...

Leave a Reply