काठमाडौं ।
देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ । २०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको त्रिविले सेमेस्टर प्रणालीको विषयमा आफू र दाता अनुकुल हुने गरी मनलाग्दी निर्णय गर्दा सयौं विद्यार्थीहरुको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो ।


त्रिविले सेमेस्टर सुरु हुँदा २.७ वा सो भन्दा बढी जिपिए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर एसजिपिए ३ प्राप्त नगर्ने विद्यार्थीलाई फेल गराई दिएको छ । त्रिविले केही समय अघि भने ३ एसजिपिए भन्दा कम प्राप्त गर्नेलाई समेत ट्रान्सक्रिप्ट वितरण गरिसकेको थियो । त्रिवि आफ्नै निर्णय समेत गैरकानुनी र आफैंमा विवादित देखिएको छ ।

सुरुमा एउटा व्यवस्था गर्ने र भूत प्रवाही हुने गरी सेमेस्टार प्रणाली लागू भएको वर्र्षौपछि अर्को निर्णय गर्ने त्रिविको निर्णयपछि विद्यार्थीहरु आक्रोशित समेत बनेका छन् । विश्व बैंकको अनुदानमा सुरु भएको सेमेस्टार प्रणालीमा विश्व बैंकको कम्प्लेनपछि पाँच वर्षपछि विद्यार्थीको भविष्य नै अन्धकार हुने निर्णय गरेको विद्यार्थीहरुको भनाई छ ।
त्रिविले वर्षदिन अघि नै भूतप्रवाही हुनेगरी एसजिपिए ३ ल्याउनुपर्ने नयाँ नियम लागू गरेपनि सार्वजनिक नगर्दा विद्यार्थी झनै आक्रोशित बनेका छन् । आम सञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका एक विद्यार्थी शोधपको कार्य सकेर ट्रान्सक्रिप्ट लिन त्रिवि कार्यालय बल्खु पुग्दा उनको प्रिन्ट भएको ट्रान्सक्रिप्टमा हातले नै फेल लेखिदिएको थियो । त्यसपछि मात्र विद्यार्थीहरुले नियमबारे थाहा पाएका थिए ।

पत्रकार केन्द्रीय विभागको पहिलो ब्याजमा मात्र २.७ प्राप्त गरेर पास गर्ने तर ३ एसजिपिए प्राप्त नगर्ने ५१ भन्दा बढी पहिलो ब्याजका विद्यार्थी छन् । दोस्रो ब्याजका विद्यार्थीमा समेत त्यस्तै समस्या रहेको छ । त्रिविले सुरुमा २.७ जिपिएले पास हुन पर्याप्त हुने सूचना दिएको विद्यार्थीहरुको दाबी छ ।
पत्रकारिता विभागका विद्यार्थीले डिपार्टमेन्ट प्रमुख, डिन र भिसीलाई भेटेर भूत प्रवाही कानुन लागू गरेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए । त्रिविका भिसी तिर्थ खनियाँले विद्यार्थीसँग तत्काल यो समस्या हल हुने बताएका थिए । पछिल्लो समय भने त्रिविले आफ्नो गल्ती ढाकछोप गर्न विद्यार्थीलाई जसरी पनि परीक्षाको फारम भराएर पास हुन दबाब दिईरहेको बुझिएको छ । पत्रकारिताका एक विद्यार्थीका अनुसार डिपार्टमेन्टले जसरी पनि पुनः परीक्षा दिएर ग्रेड वृद्धि गर्नुपर्ने नत्र सर्टिफिकेट नै पाए पनि काम नलाग्ने भन्दै दबाब दिइरहेको बताए ।

त्रिविको चरम लापरबाही एउटै ब्याजीलाई दुई थरी मापदण्ड

त्रिविको चरम लापरबाहीले सेमेस्टार प्रणालीका एउटै ब्याजीमा विद्यार्थीमा मनलाग्दी दुई थरी मापदण्ड लागू हुनेमा पुगेको छ । यसअघि शोधपत्र बुझाईसकेका कतिपय ३ एसजिपिए प्राप्त नगरेको तर २.७ वा सो भन्दा माथि एसजिपिए प्राप्त गरेका विद्यार्थीलाई त्रिविले ट्रान्सक्रिप्ट दिइसकेको छ । तर, पछिल्लो पटक भने २.७ सोही बराबरको एसजिपिए ल्याउने विद्यार्थीलाई त्रिविले ट्रान्सक्रिप्ट नदिई रोकेर राखेको हो । त्रिविले ट्रान्सक्रिप्ट नदिँदा कतिपय विद्यार्थी चरम मारमा परेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले डिन कार्यालयहरूले परीक्षामा पास भएको ग्रेडसिट दिएको आधारमै यसअघि ट्रान्सक्रिप्ट जारी गरेको र अहिले नदिन निर्देशन भएकाले रोकेको प्रतिक्रिया दिएको छ ।

अख्तियार र अदालतको गुहार्ने तयारी

त्रिविले मनोमानी गरेको भन्दै कतिपय विद्यार्थीले अख्तियार र अदालत गुहार्ने तयारी गरेका छन् । ‘त्रिविले हामीलाई प्रयोगशाला बनायो, यिनीहरुलाई जे गर्दा नि हुन्छ भनेर गैरकानुनी काम समेत गरेको छ ।’ पत्रकारिता अध्ययन गरेका एक विद्यार्थीले राजधानीसँग भने ।
विद्यार्थीहरुले अख्तियार वा अदालतको ढोका ढकढकाएमा यसअघि २.७ वा सो भन्दा माथि र ३ भन्दा तल एसजिपिएवालालाई ट्रान्सक्रिप्ट वितरण गर्ने पदाधिकारीहरु भने अनियमिततामा तानिने निश्चित जस्तै देखिएको छ । त्रिविले यसअघि जारी गरेको ग्रेडसिटमा २.७ प्राप्त गर्ने विद्यार्थीलाई उत्तिर्ण घोषित गरेको थियो भने २.७ नल्याउनेलाई फेल घोषित गरेर पुनः परीक्षा दिन लगाएको थियो ।

Leave a Reply