इरान / इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान तथा बालुचेस्तानमा चलेको बाक्लो धुलोसहितको हुरीका कारण १७१ जना विरामी भएपछि उनीहरूलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले बताएको छ । धुलोसहितको कडा हावाहुरीका कारण ८१० जनामा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको र उनीहरूमध्ये गम्भीर समस्या भएका १७१ जनालाई अस्पताल भर्ना गरी उपचार शुरु गरिएको प्रान्तको विपत व्यवस्थापन केन्द्रले जनाएको छ ।

उनीहरूलाई सिस्तान तथा बालुचेस्तानका विभिन्न अस्पतालमा राखी उपचार भइरहेको केन्द्रका प्रमुख अबोल रहमान शाहनभाजीले पुष्टि गर्नुभयो । धुलोको प्रभावका कारण केही विरामीहरूमा दृष्टिमासमेत समस्या देखिएको छ भने केहीमा मुटुसम्वन्धी समस्या देखिएको छ । उक्त क्षेत्रमा रेडक्रस समाज तथा स्थानीयको सहयोगमा प्रभावितहरूलाई खोजी पानी खाद्यान्नको विवरण तथा उपचारका लागि पठाउने काम भइरहेको साहनाभाजीलाई उद्धृत गरी आइआरएनएले जनाएको छ ।

उक्त प्रान्तका जाबोल, जाहक, हिरमान्द, हामुन र निमरुज शहरहरुमा अत्यधिक धुलोको समस्या देखिएपछि शैक्षिक संस्था तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने केही सरकारी कार्यालयहरूसमेत शनिबार एक दिन बन्द गरिएका छन् । हुरीका कारण केही उडानहरूसमेत प्रभावित बनेका छन् ।
इरानको मौसम विज्ञान महाशाखाले गत अगस्टमा सिस्तान तथा बालुचेस्तान प्रान्तमा धुलोको तहका कारण निम्तिने जोखिमहरूबारे नागरिकहरूलाई सचेत बन्न अनुरोध गरेको थियो ।

महाशाखाका अनुसार धुलोको मात्रा प्रति घनमिटर आठ हजार ७३ माइक्रोग्राम पुगेको र यो सामान्य अवस्थाभन्दा १५० माइक्रोग्राम प्रति घनमिटर बढी भएको महाशाखाका प्रमुख अलि मोलाशाहीले बताउनुभयो ।

Leave a Reply