काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गरेर संघीयतालाई खारेज गर्न लागेको आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार नगर प्रमुख र उप–प्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा वरिष्ठ नेता पौडेलले संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न लागेको आरोप लगाएका हुन् ।

‘‘कम्युनिष्ट सरकार पक्षपाति देखिएको छ । स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको छ । यसरी स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न केन्द्र सरकारले पाउँदैन । कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेमा शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो,’’ उनले भने ।

करको विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको जिरिक गर्दै वरिष्ठ नेता पौडेलले केन्द्र सरकारले वित्तिय आयोग नबनाएका कारण करको विवाद उत्पन्न भएको दाबी गरे । उनले भने, ‘‘वित्तिय आयोग नबनेका कारण करको विवाद सृजना भएको हो । यो केन्द्र सरकारको कमजोरी हो ।’’

स्थानीय तहका जनप्रतिनीधिले गर्ने काम पार्टीको भविश्यसँग जोडिएको भन्दै पौडेलले पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न नगर प्रमुख र उप–प्रमुखहरुलाई निर्देशन दिए । ‘‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएका छन् । तपाईहरुको कामसँग पार्टीको भविश्य जोडिएको छ । अहिले हामी धेरै कमजोर अवस्थामा पुगेका छौ । त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ । स्थानीय तह भ्रष्टाचारको अखडा हुन लाग्यो भन्ने बुद्धिजीवीहरुको तहबाट कुरा आउन थालेको छ । पारदर्शी रुपमा काम गर्न काम गर्नुपर्छ भन्ने दिमागमा राख्नुहोला । संविधान र लोकतन्त्रको मर्म अनुसार काम गर्नुहोला,’’ उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।

पौडेलले सरकारले अहिले ठूला–ठूला भ्रष्टचार गर्न लागेको भन्दै यो विषयलाई आम नागरिकसम्म लैजानुपर्ने बताए ।

उनले भने, ‘‘अहिले ठूला घोटला भएका छन् । त्यो स्थानीय तहले उठाउनुपर्छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा जसरी घोटला भएको छ । त्यो बिषयलाई तल्लो निकायसम्म लैजानुपर्छ । यो काम तपाईँहरुले गर्नुहोला ।’’

Leave a Reply