भक्तपुर : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल बुधबार भक्तपुर क्यान्सर अस्पताल पुगेका छन्। अस्पतालले क्यान्सर उपचारमा पुर्‍याउँदै आएको सेवाको बारे जानकारी लिन उनी अस्पताल पुगेका हुन्। उक्त अवसरमा उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र अस्पतालका मेडिकल निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पताल भ्रमण गराएका थिए।

मुख्यमन्त्री पौडेलले अस्पतालका ओपीडी, रेडिथेरापीअन्तर्गत कोबाल्ट, ब्रेकिथेरापी, लिनायक मेसिन राख्ने बंकरसँगै अन्तरंग सेवातर्फ मेडिकल, सर्जिकल, गाइने, केमोलगायतका वार्ड, प्यालिएटिभ केयर र अप्रेसन थिएटरको अवलोकन गरेका थिए।

अस्पताल अवलोकन भ्रमणपछि मुख्यमन्त्री पौडेलले अस्पतालको बारे सुनेकोमात्रै तर बुधबार प्रत्यक्ष हेर्न पाएपछि आफू प्रभावित भएको सुनाए। अस्पताल प्रदेश सरकारअन्तर्गत आए आवश्यक सम्पूर्ण सहयोग गर्ने उनको भनाइ थियो।

उक्त अवसरमा अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्षसमेत रहेका श्रेष्ठले मुख्यमन्त्रीसमक्ष तीनबुँदे माग प्रस्तुत गरेका थिए। मागपत्रमा विभिन्न शीर्षकमा ६ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्न मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गरिएको छ।

संस्थाले क्यान्सर उपचारपछि जीवनको अन्तिम अवस्थामा पुगेकाहरुको हेरचाह गर्न निर्माण गरिने विश्रान्ति गृह (हस्पिस सेन्टर) को लागि पाँच करोड बजेट माग गरेको छ। उक्त गृह निर्माण गर्न संस्थाले ललितपुरको धापाखेलमा ४ रोपनी जग्गा व्यवस्था गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

त्यस्तै ब्रेकिथेरापी, सिमुलेटरलगायतका उपकरणको लागि एक करोड र तीन प्रदेशअन्तर्गतका १३ जिल्लामा क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्न ३० लाख रुपैयाँको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरिएको छ।
उक्त मागपत्र बुझ्दै मुख्यमन्त्री पौडेलले चालू आर्थिक वर्षको लागि बजेट व्यवस्थापन गर्न नसकिने तर आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने वचन दिए।

‘जिल्ला अस्पताल प्रदेश सरकार मातहत आइसकेका छन्। ती अस्पताललाई बजेट उपलब्ध गराउँदै आएका छौं’, मुख्यमन्त्री पौडेलले भने, ‘भक्तपुर क्यान्सर अस्पतालको अपेक्षालाई पनि प्रदेश सरकारले मर्न दिँदैन।’

उनले शिक्षा र स्वास्थ्यमा उपलब्धि हात नलागेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने भएकाले प्रदेश सरकारले पनि शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने जानकारी दिए।

उक्त अवसरमा बेलायतस्थित माया आउटरिचले भक्तपुर क्यान्सर अस्पताललाई करिब तीन लाख रुपैयाँको भौतिक सहयोग मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको छ। माया आउटरिचले अस्पतालमा उपचार गराउने क्यान्सर बिरामीहरुलाई कोलोनोस्कोपी व्यागलगायत सहयोग गर्दै आएको मेडिकल निर्देशक प्रा.डा. श्रेष्ठले जानकारी दिए।

उनले अस्पतालबारे प्रस्तुतीकरण गर्दै अबको ६ महिनाभित्र रेडियोथेरापीको अत्याधुनिक लिनायक मेसिन जडान हुने जानकारी दिए। अस्पतालमा फोक्सोको अप्रेसन सुरु गरिएको बताउँदै उनले चाँडै न्यूरो क्यान्सरको समेत अप्रेसन सुरु गर्न लागिएको स्पष्ट पारे।

Loading...

Leave a Reply