भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो पार्टीका युवा नेताले पूर्वयुवराज पारसलाई भेटेकोबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

आफ्ना युवा नेताहरुले पारससँग भेट्नुअघि आफूसँग कुरा नगरेको र भेटेपछि पनि केही जानकारी नदिएको उनको भनाइ छ ।

पार्टी समर्थित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (प्रजातान्त्रिक) भक्तपुरले शनिबार गरेको तीज विशेष कार्यक्रममा सहभागी अध्यक्ष राणाले पत्रकारहरुसँग भने, ‘हाम्रा युवा नेताहरुले पूर्वयुवराज पारससँग भेट गरेकोबारे मलाई जानकारी छैन । उहाँहरुले भेट्नुअघि सोध्नुभएको छैन र भेटेपछि पनि केही भन्नुभएको छैन ।’

सञ्चारमाध्यममा तीन राप्रपाका युवा नेताले पूर्वयुवराज पारस शाहसँग भेटवार्ता गरेको समाचार सार्वजनिक भएको थियो । उक्त भेटमा पूर्वयुवराज पारसले तीन राप्रपाको एकताबारे चासोसमेत व्यक्त गरेको खबर बाहिर आएको छ । 

साथै पारससँग भएको भेटमा सहभागी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं युवक संगठनका प्रमुख रवीन्द्रप्रताप शाह पार्टी अध्यक्ष राणासँगै शनिबारको कार्यक्रममा सँगै थिए ।

अध्यक्ष राणाले उक्त भेटबारे जानकारी नभएको बताइरहँदा सँगै रहेका शाह मुस्कुराइमात्र रहेका थिए । अध्यक्ष राणाले पत्रकारले भनेपछि मात्रै आफ्ना युवा नेताले पारसलाई भेटेको थाहा पाएको भन्दै ठट्टासमेत गरे । 
राप्रपा प्रजातान्त्रिक उदार पार्टी भएकाले व्यक्तिगत रुपमा कसले कसलाई किन भेट्यो भन्ने महत्वपूर्ण र पार्टी अनुशासनभित्रको कुरा नहुने उनको भनाइ छ ।

तीन राप्रपाबीच कहिले पार्टी एकता हुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ अध्यक्ष राणाले पार्टी एकीकरणको लागि आफूले वार्ता समिति बनाएको र उक्त समितिले पार्टीसँग विचार र भावना मिल्ने व्यक्ति र पार्टीसँग एकताको लागि संवाद गर्ने जानकारी दिए ।

‘पार्टी एकता गर्न समिति बनाएका छौं’, उनले भने, ‘उक्त समितिबाट पार्टी एकता अघि बढेको छ ।’

उनले कहिलेसम्म पार्टी एकता हुन्छ भन्ने प्रश्नको भने स्पष्ट जवाफ दिएनन् । उनले पार्टी एकता गर्न गठित समितिको क्रियाशीलताप्रति भने अशंका व्यक्त गरे ।

अध्यक्ष राणाले कार्यक्रममा धेरै भक्तपुरे नेता तथा कार्यकर्ताहरु देखिए पनि चुनाव जित्न नसकेको दुखेसो पोखे । उनले पुरुषहरुलाई उछिनेर पार्टीलाई चुनाव जित्ने बनाउन महिलालाई आह्वान गरे ।

‘भक्तपुरको पार्टी पंक्तिप्रति मेरो गुनासो छ । आजकै कार्यक्रम हेर्नोस् सहभागी कति छौं’, उनले भने, ‘तर हामीले भक्तपुरमा चुनाव जित्न सकेनौं । अब पार्टीलाई चुनाव जित्ने बनाउने गरी महिला अघि आउनुपर्‍यो ।’

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य एवं युवक संगठन विभाग प्रमुख रवीन्द्रप्रताप शाह, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सुरेन्द्र केसीलगायतले प्रजातन्त्रवादी फुटेरभन्दा जुटेर अघि बढ्नुपर्नेमा जोड दिए । 

Leave a Reply