भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउन पार्टीले अभियान चलाउने बताएका छन्।

पार्टी समर्थित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भक्तपुरले शनिबार गरेको जिल्लास्तरीय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी एजेन्डा कमजोर बन्दै गएकाले पार्टीले देशव्यापी अभियान चलाउने बताएका हुन्।

उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेबारे जनमतसंग्रह गर्नुपर्नेसमेत दोहोर्‍याए। जनताले बुझ्न नसक्दा नेपाल धर्मनिरपेक्ष भएको उनको भनाइ थियो।

‘९५ प्रतिशतभन्दा बढी नेपाली हिन्दु धर्मको पक्षमा छन् तर जनताले बुझ्न नसक्दा समस्या भयो’, अध्यक्ष थापाले भने, ‘जनतालाई हामीले पनि बुझाउन सकेनौं। त्यसैले गएका चुनावमा हिन्दू राष्ट्र र राजसंस्था बोक्ने हामीले नराम्रोसँग पराजय भोग्नुपर्‍यो।’

उनले संघीय संसदमा राप्रपाका एकजनामात्रै सांसद भएकाले पनि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज ठूलो हुन नसकेको जानकारी दिए।
‘तैपनि नेपाललाई हिन्दू राष्ट्र बनाउनैपर्छ’, उनले भने।

कार्यकर्तालाई भ्याईनभ्याई
शनिबार एकैदिन भक्तपुरमा राप्रपाका दुई घटकका महिला संगठनले करिब एकै समय कार्यक्रम गरेका थिए। राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा आउने भएपछि राप्रपाका अध्यक्ष कमल थापा पनि ढिलो गरी भक्तपुर पुगेका थिए। प्रजातान्त्रिकका अध्यक्ष राणाले पार्टी एकता हुनुपर्ने बताए पनि राप्रपाका अध्यक्ष थापाले पार्टी एकताबारे केही शब्द पनि बोलेनन्।

करिब एकै समयमा दुवै अध्यक्षको सम्बोधन भएपछि पार्टी एकताको पक्षमा रहेका स्थानीय नेता तथा कार्यकर्ताहरुलाई भने दुइटै कार्यक्रम भ्याउन भ्याई नभ्याई भएको थियो।

धन्न दुइटै कार्यक्रम मध्यपुर थिमी नपाभित्र गरिएको थियो। करिब एक किलोमिटरको दूरीमा कार्यक्रम भएकाले प्रजातान्त्रिकको कार्यक्रम सकाएर राप्रपाको कार्यक्रम भ्याउन केही सहज भएको थियो।

प्रजातान्त्रिकले मध्यपुर थिमी नपा ७ स्थित न्यू एभरेस्ट पार्टी प्यालेसमा र राप्रपाले वडा नम्बर ९ स्थित निकोसेरा पार्टी प्यालेसमा कार्यक्रम गरेका थिए।

प्रजातान्त्रिकका अध्यक्ष राणाको सम्बोधन पहिले सकिएकाले त्यहाँबाट राप्रपाको कार्यक्रममा पुग्नेले अर्का अध्यक्ष थापाको सम्बोधनसमेत सुन्न भ्याएका थिए। 

कार्यक्रममा दौडधुप गरेका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको मनोदशा हेर्दा उनीहरु पार्टी एकताको पक्षमा छन् तर केन्द्रमा कुरा नमिल्दा आफूहरुमात्रै तातिएर केही नहुने राप्रपाका जिल्ला नेताहरु बताउँछन्।

‘जिल्लामा पार्टी एकता गर्न हामीलाई समस्या छैन’, राप्रपाका एक जिल्ला नेता भन्छन्, ‘तर माथि केन्द्रीय नेताहरु मिल्दैनन्। उनीहरु नमिलेसम्म हामी विभाजित नै भएर रहनुपर्ने भयो।’

कार्यक्रममा सहभागी केही नेता कार्यकर्ताहरुले पनि प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) को पनि कार्यक्रम बाँकी छ कि भनी प्रश्न गरेका थिए। 

Leave a Reply