श्रीनगर– भारत प्रशासित कश्मिरमा एक ९ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी ती बालिकाकी सौतेनी आमाले आफ्नै १४ वर्षीय छोरा र अन्य ३ जनालाई अगाडि राखेर आफ्नैअघि बलात्कार गर्न लगाएको अधिकारीहरुले जनाएका छन् । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शब कश्मिरको बारामुल्ला जिल्लाको जंगलमा फेला परेको थियो ।

ती बालिकालाई चरम यातना दिनुका साथै तेजाब खन्याएको अधिकारीहरुले जनाएका छन् । ती बालिका १० दिनदेखि बेपत्ता थिइन् । आफ्ना पतिले छोरीलाई धेरै माया गरेकामा असन्तुष्ट रहेकी सौतेनी आमाले बलात्कारपछि हत्या गर्न लगाएको बताइएको छ ।

‘सौतेनी डाह’ बाट ग्रसित ती महिलाले आफ्नी सौता र सौतेनी छोराछोरीप्रति बैमनस्यता राखेर घटना घटाएको एक अधिकारीले बताए । सामूहिक बलात्कारपछि यातना दिँदै बालिकामाथि बन्चरो प्रहार गरेर हत्या गरिएको थियो । आरोपीमध्ये एक १९ वर्षीय युवकले बालिकाको शब छिन्नभिन्न पारेका थिए ।

भारतप्रशासित कश्मीरमा केही महिनाभित्रै बालिकाको सामूहिक बलात्कार र हत्या भएको यो दोस्रो घटना हो । गत अप्रिलमा कश्मिरकै कठुआ जिल्लामा एक ८ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

सो घटनामा आरोपित भएकाहरूको समर्थनमा निकालिएको एउटा जुलुसमा सत्तारूढ भारतीय जनता पार्टीका दुई मन्त्री सहभागी भएपछि भारतभर आक्रोश व्यक्त भएको थियो ।

सन् २०१२ मा दिल्लीमा २३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटनायता भारतमा यौन हिंसामाथि निगरानी राख्न थालिएको छ । त्यसपछि भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाइएपनि यस्ता जघन्य अपराधका घटनामा कमी आउन सकेको छैन ।

Leave a Reply