भक्तपुर । शनिबार परेको अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको दिनमै पालिकाले ‘शिक्षकको जागिर खाईदिने धम्की’ दिएको खुलासा भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले शनिबार मनाइएको दिवसको अवसरमा आफ्नै कार्यालय परिसरमा गरेको कार्यक्रममा उपस्थित नहुने शिक्षकको जागिर खाईदिने धम्की दिइएको खुलेको हो ।
कार्यक्रममा उपस्थित हुनका लागि विद्यालयका प्रधानाध्यापकमार्फत् सम्पूर्ण शिक्षकलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन नगरपालिकाका प्रमुख बासुदेव थापाले वडा अध्यक्षहरुमार्फत सर्कुलर गरेका थिए ।
स्थानीय तहमा आएको माध्यमिक तहको शिक्षाको अधिकारलाई सदुपयोग गर्दै नगरपालिकाले समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ नाराका साथ र्यालीका साथ मनाइएको ३९ ओं राष्ट्रिय शिक्षा तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सफल रुपमा सम्पन्न गर्न शिक्षकलाई युनिफर्ममा आउन निर्देशन दिइएको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने ।
विद्यार्थीहरुको पनि उल्लेख्य सहभागितामा प्लेकार्ड सहित उपस्थित गराइएको उक्त कार्यक्रममा सहभागी नभएका शिक्षकको बिदा काटिनेमात्र नभएर कार्यक्रम स्थलमै पनि छड्के हाजिरी गर्ने भनी वडाध्यक्षहरुबाट मौखिक रुपमा जानकारी गराइएको शिक्षकहरुको भनाइ छ ।
शिक्षकहरुका अनुसार शनिबार परेको सो कार्यक्रममा उपस्थिति न्यून हुने चिन्ताले सो अनुसार धम्क्याइएको थियो ।
विद्यालयहरुको शैक्षिक स्थिति सुधार गर्नुको साटो शिक्षकलाई तर्साउने काम हुनु नराम्रो भए पनि स्थानीय तहमा आएको शिक्षाको अधिकारको नाममा नगरपालिकाले शिक्षकलाई पेल्ने नीति बनाउनु दुखद् विषय भएको शिक्षकहरुको टिप्पणी छ ।
शनिबार बिदाको दिन हो, बिदामा परेको कार्यक्रम भएकोले कार्यक्रममा शिक्षक उपस्थित नहुने आशंकाले नगरपालिका र वडाध्यक्षहरुले धम्की दिइएको आंकलन शिक्षकहरुको छ ।
शिक्षा दिवसबारे र शिक्षकलाई दिइएको भनिएको धम्कीको विषयमा बुझ्न मेयरलाई पटकपटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।

Leave a Reply