काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोल्पाको सुलिचौरमा तरुणदलका नगर अध्यक्षको हत्यामा तत्कालीन विद्रोही माओवादीले प्रयोग गरेको हतियार भएको आरोप लगाएको छ ।

कांग्रेसले रोल्पा घटनाको सम्बन्धमा सदनमा गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मंगलवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सत्तारुढ दलका कार्यकर्तालाई दुईतिहाइको दम्भ भएकाले गोली प्रहारको घटना भएको आरोप लगाएका हुन् ।

‘केन्द्रमा दुईतहाइको दम्भले गर्दा तलका कार्यकर्तालाई हत्या गरेर के भयो र उन्मुक्ति पाइन्छ, त्यस्ता गणतन्त्र दिवस फेरि आइहाल्छ भन्ने दम्भ देखिएको छ, यसले अरु पनि दुर्घटना हुने खतरा छ,’ पाण्डेले संसदमा भने, ‘हत्याको घटनामा नयाँ ढंगले हतियार खरिद गरिँदैछ कि माओवादीले बुझाउनु पर्ने हतियारबाट घटना भएको हो ? नेकपाका अध्यक्ष प्रचण्डले हतियार खोलाले बगायो भन्नुभएको थियो । पूरानै हतियार लिएर हिँडिएको हो कि नयाँ हतियार हो गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’

तरुण दलका नगर अध्यक्ष रोहित पुनलाई सत्तासीन दलका कार्यकर्ताको हिंस्रक जत्थाले हत्या गरे पनि देवबहादुर घर्तीमात्र पक्राउ परेका तर गोपाल महरालगायत फरार रहेको भन्दै उनलाई पक्राउ गर्न माग गरे ।

पाण्डेले सरकारको अकमण्र्यताले गर्दा दण्डहिनताले प्रश्रय पाउने घटनाले सभ्य र सुरक्षामा ठूलो संकट निम्त्याउने र मुलुकलाई अधोगतिमा लैजाने भन्दै चिन्ता व्यक्त गरे ।

उनले कञ्चनपुरकी निर्मला पन्तको हत्याको छानबिन समितिका सदस्यले राजीनामा दिएको विषयमा समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

Leave a Reply