३ नं. प्रदेश स्तरीय सहकारी ऐन विषयक कार्यशाला चितवनमा सम्पन्न

सहकारी ऐन नियमावली तथा कोषहरुको विषयमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी आज चितवनको भरतपुरमा सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र प्रदेश नं.३ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्याशाला बचत तथा ऋण सहकारी संस्थाहरुमा सहकारी ऐन, नियमावली तथा कोषहरुको विषयमा विस्तृत छलफल सहित घोषणापत्र जारी गरि समापन भएको थियो ।

३ नं. प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन ३ नं. प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले गर्नुभएको थियो । सो क्रममा बोल्दै मन्त्री लामाले मुलुक निर्माणका लागि सहकारीसँग मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै अब हरेक कामका लागि सहकारीसँगको सहकार्य अनिवार्य हुने गरी ऐनमा व्यवस्था गर्न लागिएको बताउनुभयो । सहकारीलाई पारदर्शी, उत्तरदायी र उत्पादनमुखी बनाउन प्रदेश सरकारको ध्यान जाने उहाँले बताउनुभयो । प्रदेश सरकारले अधिकार नपाउला भन्नेमा दुविधा नभएको भन्दै मन्त्री लामाले छिट्टै प्रदेश सरकार अधिकार सम्पन्न र सक्रिय बन्ने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष डी.बी. बस्नेतले ऐन नियमको अस्पष्टताले सहकारी संस्थाहरु सञ्चालनमा समस्या परेको बताउनुभयो । समस्या फुकाउन प्रदेश कानुन चाँडै बन्नुपर्ने र सहकारीलाई हेर्ने प्रादेशिक निकायले काम थाल्नुपर्ने उहाँले बताउनुभयो ।

चितवन जिल्ला बचत संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले कुन प्रदेशमा कस्ता कस्ता सहकारी आवश्यक हुन् भन्ने कुरामा निश्चित हुन जरुरी रहेको बताउँदै एकीकरण भएका संस्थाले पनि दुईवटा संस्थाको छुट्टाछुट्टै कर तिर्नुपर्ने अवस्था देखिएकाले करसम्बन्धी अन्योलतालाई जतिसक्दो छिटो हटाउन जरुरी रहेको बताउनुभयो ।

Source link

Loading...

Leave a Reply