हरेक विद्यालयमा मनाेवैज्ञानिक परामर्शदाता हुनुपर्छ

अहिले मुख्यतः बच्चाहरु स्कुल जान नचाहने, पढ्न नसक्ने, सुस्त मनस्थिति हुने जस्ता मानसिक समस्याबाट पीडित भएको देखिन्छ।

डराइरहने, काँपिरहने, भूत–पिचास लागेर बेहोस् भयो भन्ने समस्या लिएर अभिभावकहरु अस्पताल धाउने गर्दछन्।

परीक्षामा फेल भएमा, परिवार धेरै गरिबीमा भएमा, सौतेनी बा–आमा भएमा पनि बच्चाहरुमा तनाव तथा मानसिक समस्या देखिन सक्छ।

धेरै शिक्षकमा पनि बच्चालाई केकस्तो मानसिक समस्या पर्न सक्छ भनेर खासै ज्ञान हुँदैन। कति बच्चामा एभरेज इन्टेलेजेन्स हुन्छ। उनीहरुलाई अलि विशेष खालको उपचार आवश्यक छ। मैले त्यस्ता बच्चाको सामान्य ज्ञान चेक गर्ने गर्छु। कसैलाई हामीले चित्रहरुमार्फत पनि समस्या पहिल्याउन खोज्छाँै।

बच्चाको समस्या थाहा पाउन ऊ कस्तो वातावरणमा हुर्किरहेको छ भन्ने पनि जान्न जरुरी छ। कतिपय त स्कुलमा नै त्यस्ता समस्या भोगिराखेका हुन्छन्।

शिक्षकले नै दुव्र्यवहार गरेको हामीले सुन्न सक्छौँ। बच्चालाई धेरैभन्दा धेरै यातना दिएको अनि मानसिक आघात पुगेका समाचार हामीले पढिराखेका हुन्छाँै।

त्यसरी दुव्यर्वहार हुँदा बच्चामा गम्भीर असर परिराखेको हुन्छ। बच्चाहरुले त्यस्तो समस्या अरुलाई खुलेर बताउन पनि सक्दैनन्। र त्यो समस्या उनीहरुको बानीमा झल्किन्छ। त्यसैले एउटा जान्ने बच्चा पनि धेरै मानसिक समस्या लिएर बाँचिराखेको हुन्छ। डिप्रेसन, एन्जाइटीबाट पीडित भइराखेको हुन्छ।

आमाबाबुलाई चाहिँ बच्चा जान्ने हुनु भनेको फस्र्ट आउने मात्र सम्झिन्छन्। तर बच्चाहरुको खुबी र दख्खल केमा छ, त्यो आमाबाबुले राम्ररी सोचविचार गर्नुपर्छ। तर यहाँ स्थिति फरक छ। उनीहरुलाई राम्रो अंक ल्याउनुपर्छ भनेर अनावश्यक तनाव दिने काम मात्र गरिन्छ। त्यसमाथि राम्रो विद्यार्थीलाई फस्र्ट नै आउनुपर्छ भनेर मानसिक दबाब दिइने गरिन्छ। जसले गर्दा उनीहरु झनै परीक्षामा राम्रो अंक ल्याउन सक्दैनन्।

बच्चाको खुबी केमा छ, त्यो राम्ररी पहिल्याउनुपर्छ। यहाँको स्कुलिङ नै राम्रो छैन। त्यसमाथि यहाँ स्कुलमा सैद्धान्तिक ज्ञानमा मात्र बच्चालाई फोकस गरिएको छ, व्यावहारिक ज्ञान पटक्कै दिइएको छैन।

होमवर्क सिस्टम छ। सानासाना बच्चाहरु आफूले बोक्नै नसक्ने गरी झोलाभरि किताब बोकेर स्कुल गइरहेका हुन्छन्। स्कुलमा ६ देखि ७ घन्टा बिताइसकेको हुन्छ। फेरि पनि होमवर्क दिइन्छ, जसले बच्चाको सिर्जनशीलता नै मारिदिन्छ।

शिक्षा मन्त्रालयले पनि स्कुल लेभलको पाठ्यक्रम हेर्नुपर्छ जस्तो लाग्छ। जस्तै एउटा बच्चाको पढाइमा पूरा ध्यान दिनसक्ने समय १० देखि १५ मिनेटसम्म हुन्छ भने एउटा बच्चाले ४५ मिनेट कसरी पढ्न सक्छ?

यो कत्तिको व्यावहारिक छ? दुईवटा बोरिङ क्लास लागातार राखिएको हुन्छ, त्यो कत्तिको व्यावहारिक छ त? लर्निङ डिसएबलिटी भएका बच्चाहरुको त सरकारलाई चासो नै छैन।
जस्तै परीक्षाको समयमा १० प्रतिशत हुनसक्छ या २० प्रतिशत हुनसक्छ अलिकति बढी अंक दिएमा बच्चा खुसी हुन सक्छन्। त्यसले मन लगाएर पढ्न बानीको विकास गराउँछ।
कत्तिलाई बच्चामा कस्तो समस्या भन्ने थाहा हुँदैन। कत्तिले बच्चाहरु यस्तै त हुन् नि, कोही छिटो सिक्छन्, कोही पछि गएर सुध्रिहाल्छन् भन्ने पनि सोचेर ढिलो उपचार गर्न आइराखेका हुन्छन्।

यहाँ अभिभावकमा पनि जनचेतनाको कमी छ। उनीहरुले यो आफैं विकसित बानी हो भनेर चुप लागेर बसिराखेका हुन्छन् तर त्यो समस्या हो भनेर अझै थाहा छैन बाआमालाई। यो समस्या हो र बच्चालाई साथ र सहयोग चाहिन्छ भनेर पहिला नै थाहा भएमा हाम्रो प्राइमरी फाउन्डेसन नै बलियो भयो भने यति अन्तिम अवस्थामा बच्चाहरु उपचारका लागि आइपुग्दैनन्।

यसले भविष्यमा ठूलै असर पार्छ। कतिपय बच्चाहरुले पढ्नै छोडिदिन्छन्, कोही त्यही मानसिक समस्या लिएर जिन्दगीभर बाँचिरहेका हुन्छन्। आत्मविश्वासमा कमी हुन्छ, उनीहरु आफूलाई एक्सपोज गर्न डराउँछन्। परिवार, आफन्त, शिक्षकबाट नकारात्मक धारणाहरु सुनिसकेका हुन्छन्। जसले गर्दा उसले आफ्नो स्किल डेभलप हुनु अगाडि नै धेरै कुरा गुमाइसकेको हुन्छ। सिक्ने उमेरमै समस्या पहिल्याउन सकिएन भने पछि त्यसले नकारात्मक अवस्था सिर्जना गर्दछ।

अभिभावकहरु यस्ता लक्षणबारे कत्तिको जानकार छन् भन्नेमा प्रश्न आउँछ। अब यसबारे अभिभावकलाई जानकारी छ भने कम उमेरमै यो पत्ता लाग्छ। मेरो बच्चाले ठिक तरिकाले बोलिराखेको छ या छैन, मेरो बच्चा अरुजस्तो छ या छैन भन्ने बुझ्नुपर्छ।

यहाँ अस्पतालसम्म आउने भनेको सबै ठाउँमा भ्याएर पैसा सकेर मात्रै आउने गर्दछन्। उनीहरुले त्यस्तो लक्षण देखेर बच्चा हो ठूलो भएपछि परिवर्तन आइहाल्छ नि भनेर खासै केयर गर्दैनन् तर पछि नतिजा अर्के निस्किन्छ। मानसिक अस्पताल आयो भने त पागल भएपछि मात्र जान्छन् भनेर नकारात्मक धारणा पालेर बसेका छन् मानसिहरु त्यो भ्रम चिर्न जरुरी छ।

बालबालिकालाई मनोपरामर्श दिन जरुरी छ। हरेक विद्यालयमा एउटा स्कुल काउन्सिलर राख्नुपर्छ। आफ्नो समस्या बच्चाहरु सबै शिक्षकलाई भन्न सक्दैनन्, भन्न सहज नहुन पनि सक्छ। काउन्सिलले बच्चामा समस्या पहिचान गर्ने अनि त्यहाँबाट रेफर हामीलाई गर्ने त्यसपछि उपचार हामीले गर्छौं। राम्रो मनोपरामर्शदाता कहाँ गएमा समस्या छिटो पत्ता लाग्न सक्छ।

(तृष्णा घोष विष्ट पाटन मानसिक अस्पतालकी वरिष्ठ किल्निकल साइकोलोजिष्ट हुन्।)

Source link

Loading...

Leave a Reply