के हो गठिया बाथ? लक्षण, जोखिम र उपचार

बाथ एक प्रकारको दीर्घ रोग हो। यो अटोइम्युन डिजिज हो, अर्थात् शरीरमा आफ्नो रक्त कोषले आफ्नै अंगलाई खराब गर्ने रोग हो।

सामान्य जनमानसमा बाथ भन्नेबित्तिकै युरिक एसिड नै हो भन्ने गलत बुझाइ छ। सबै बाथरोग युरिक एसिड होइन। युरिक एसिडको बाथ महिलामा भन्दा पुरुषमा बढी देखिन्छ। हाम्रो शरीरलाई युरिक एसिड जरुरी छ। युरिक एसिड अलिकति बढी हुँदैमा औषधि खानु पर्दैन। युरिक एसिडले असर गर्न थालेको छ भने मात्र चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ। तर मानिसहरु युरिक एसिड अलिकति बढ्नेबित्तिकै आफंै औषधि किनेर खान थाल्छन्, त्यो गलत हो।

अहिलेसम्म सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेका छन्। तीमध्येको एउटा रोग युरिक एसिड हो।

नेपालमा मुख्यगरी तीन प्रकारका बाथरोग देखिएको छ। पहिलो गठिया बाथ, दोस्रो जोर्नी खिइने बाथ त्यसपछि मांशपेशीको बाथ। यीमध्ये आज हामी गठिया बाथ रोगबारे चर्चा गर्दैछौं।

गठिया बाथ रोग जुनसुकै उमेरका व्यक्तिमा पनि हुनसक्छ। तर मुख्यगरी ४० वर्ष कटेपछि यो रोग देखिन्छ। यो रोग पुरुषमा भन्दा महिलामा तीन गुणा बढी देखिन्छ। बाथको सटिक कारण पत्ता नलागे पनि वातावरणीय, जेनेटिक, विभिन्न संक्रमणका कारणले हुनसक्छ। धूमपानले पनि बाथ बढाउन सक्छ।

गठिया बाथ रोग वंशाणुगत चयन होइन। तर परिवारमा अघिल्ला सदस्यहरुलाई बाथ छ भने पछिका सन्तानलाई यो बाथ हुने जोखिम बढी हुन्छ। अन्य व्यक्तिभन्दा यस्तो परिवारका सदस्य तीन गुणा बढी जोखिममा भने हुन्छन्।

लक्षण
हात–खुट्टाका साना–ठूला जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा हात कक्रक्क पर्ने गठिया बाथका सुरुवाती मुख्य लक्षण हुन्। यी लक्षण देखिएपछि समयमै उपचार भएन भने विस्तारै जोर्नी बांगिँदै जान्छ। गठियाले मुख्यतया जोर्नी बांगिने र जोर्नी जोडिँदै जाने हुन्छ।

हामीले बिरामीको लक्षण हेरी चयन पत्ता लगाउने हो। आवश्यक विभिन्न रगत परीक्षण जस्तै आरएफ, एसीपीए गरी उपचार सुरु गर्छौं। त्यसले समस्या कति गम्भीर छ भन्ने थाहा हुन्छ।

गठिया बाथर भएपछि आँखा रातो हुने, सुन्निने, फोक्सोमा जाली पर्ने, मुटुमा समस्या हुनसक्छ। त्यसैले समयसमयमा आँखा जाँच, मुटु, फोक्सोको जाँच गराउनुपर्छ।

जोर्नीमा बाथ छ वा छैन, छ भने कति सिभियर छ भनेर हेर्न अल्टोसोनोग्राम गरिन्छ। यो नयाँ प्रविधि नेपालमा पनि आइसकेको छ।

आजकल जोर्नी दुख्ने, सुन्निने र बिहान उठ्दा हात कक्रक्क पर्ने समस्या भयो भने अस्पताल आउने मान्छेहरु पनि धेरै छन्।

किनकि आजकल धेरै कुरा इन्टरनेटबाट हेरेर पनि कति आउनुहुन्छ। यो क्रम सहरमा बढी छ। तर गाउँघरमा अझै पनि रोग लागेको धेरै वर्षपछि मात्र सही चिकित्सककहाँ पुग्ने गरिन्छ। अनि धेरैले विभिन्न आयुर्वेदिक औषधि खाने, चिकित्सकको सिफारिसबिना नदुख्ने औषधि खाने गर्छन्। जसले केही समयलाई राम्रो गरे पनि दीर्घकालीन रुपमा समस्या ल्याउँछ।

गठिया बाथको मूल उपचार भनेकै बाथ नियन्त्रणका औषधि हुन्। यस रोगमा बिरामीले कुनै खानेकुरा बार्नुपर्ने पर्दैन। तर बाथ रोग भन्नेबित्तिकै दाल, गेडागुडी, टमाटरलगायतका खाद्य पदार्थ बार्ने धेरै छन्। खाना बार्दा शरीरलाई चाहिने पोषकतत्व नपुगेर समस्या झन् बढ्छ।

गठिया बाथको औषधि खाइरहेका महिलाले गर्भवती हुने योजना बनाउनुभन्दा अघि चिकित्सकसँग परामर्श लिनैपर्छ। गर्भवती हुन योजना बनाउँदा खाइरहेको केही औषधिको तालमेल मिलाउनुपर्ने हुन्छ। बिरामीले खाइरहेको केही औषधिले बच्चालाई हानि पुर्‍याउन सक्छ।

कुनै पनि बाथ रोग पूर्ण रुपमा निको त हुँदैन। तर जुन स्टेजमा छ, त्यसलाई निन्त्रयण गर्न सकिन्छ। सुरुवाती लक्षण देखिँदा उपचारमा जान सकेमा औषधिले चाँडो प्रभाव देखाउन सक्छ। र जोर्नी बांगिनबाट जोगाउन सकिन्छ। गठिया बाथ रोग दीर्घकालीन रोग भएकाले औषधि पनि दीर्घकालीन रुपमै खानुपर्ने हुन्छ। गठिया बाथरोग भएका व्यक्ति चिसोबाट बच्नुपर्छ। धूमपान नगर्ने, धूमपान भएको ठाउँमा पनि नबस्ने गर्नुपर्छ।

औषधिको साइड इफेक्ट र रोगको अवस्था हेरेर औषधिको मात्रा मिलाउन बिरामी हरेक तीनदेखि चार महिनामा नियमित फलोअपमा आउनुपर्छ। बेलाबेलामा रगत, कलेजो र मिर्गौलाका जाँचहरु पनि गरिरहनुपर्छ।

-(बाथरोग विशेषज्ञ डा नकर्मी नेसनल बाथ रोग सेन्टरमा कार्यरत छिन्।)

Source link

Loading...

Leave a Reply