भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सरकारले औद्योगिक ग्राम बनाउन तयार भएर नपा जग्गा दिन तयार भएको बताएका छन् ।
स्थानीय तहमै पर्याप्त रोजगारी सिर्जना गर्ने नपाको नीति रहेको स्पष्ट पार्दै उनले औद्योगिक क्षेत्रको लागि सबै कुरा गर्न तयार रहेको बताएका हुन् ।
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा विजया दशमीको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख थापाले भने, ‘स्थानीय तहमै रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरु विदेशिनुपर्ने बाध्यता छ ।’
सूर्यविनायकमै औद्योगिक ग्राम बने यहाँका उद्योगी व्यवसायीहरुसमेत लाभान्वित उनको भनाइ थियो ।
प्रमुख थापाले नगर क्षेत्रका घरेलु तथा साना उद्योगहरुलाई कर छुट दिने घोषणा गरे । त्यसको लागि नपाले के के गर्नुपर्छ बुँदागत रुपमा लेखेर ल्याउन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महासंघसँगको सहकार्यमा देशभर २० वटा औद्योगिक ग्राम बन्ने भएको जानकारी दिए ।
औद्योगिक ग्रामसम्बन्धी कार्यविधि मन्त्रीस्तरबाट पारित भई मन्त्रिपरिषद्मा लगिएको भन्दै भक्तपुरमा पनि एउटा औद्योगिक ग्राम स्थापनाको लागि जग्गा उपलब्ध गराउने उनले आह्वान गरेका थिए ।
‘नपाले जग्गा उपलब्ध गराउनेबित्तिकै सरकारले सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यविधि बनाइसकेको छौं’, कार्यबाहक अध्यक्ष सिंहले भने, ‘कार्यविधिअनुसार बन्ने औद्योगिक ग्रामको सम्पूर्ण स्वामित्व नगरपालिकाको हुनेछ ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघले देशभरका एकसय १२ वटा नपासँग सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगार बनाउन सहकार्य गर्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष सत्यनारायण प्रजापति, महिला उद्यमी समितिकी केन्द्रीय उपसभापति रीता प्रजापति, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, भक्तपुर संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजालगायतले देशभरका घरेलु तथा साना उद्योगलाई मात्रै प्रविधिले युक्त गरी आधुनिक बनाउन सकिए हजारौं रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए ।
घरेलु तथा साना उद्योगहरु परम्परागत प्रविधिमै सञ्चालित हुँदा नयाँ पुस्ता यसतर्फ आकर्षित हुन नसकिरहेको उनीहरुको भनाइ थियो ।
संघले सूर्यविनायक नपा ६ मा आफ्नो सचिवालय भवन निर्माण गरिरहेको छ । कार्यक्रममा उक्त भवन निर्माण गर्न आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई सम्मानसमेत गरिएको थियो ।indepth

Loading...

Leave a Reply