teacher

काभ्रे । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले शिक्षक क्रान्तिकारी हुनु अनिवार्य भएको बताएका छन् ।

नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन नेपाल क्रान्तिकारी शिक्षक संघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले भने,‘जुन देशका शिक्षक क्रान्तिकारी हुन्नन्, त्यो देशमा साँचो अर्थमा क्रान्ति सम्भव छैन ।’

अध्यक्ष बिजुक्छेंले देशमा बढिरहेको विकृति र विसंगतिको जिम्मा सरकारले नलिए पनि शिक्षकले त्यसको जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । उनले नयाँ पुस्तालाई जागरुक र जिम्मेवार बनाएर विकृति, विसंगति न्यूनीकरणका लागि पहल गर्नु जरुरी रहेको औंल्याए ।

विद्यार्थीलाई पढाउनुपूर्व शिक्षकले अध्ययन गरी विद्यार्थीलाई देशको समसामयिक विषयमा अवगत गराउनुपर्नेमा पनि उनको जोड थियो । उनले विद्यालयलाई क्रान्तिको बारुदखानाको संज्ञा दिँदै विद्यालयको उक्त मर्मअनुसार शिक्षकले शिक्षण गर्नुपर्ने पनि चर्चा गरे ।

कार्यक्रममा उनले कोर्सभित्रका विषयवस्तुलाई मात्र प्राथमिकता नदिएर बाहिरी र देशको सामयिक विषय र सन्दर्भका बारेमा पनि विद्यार्थीलाई अवगत गराउन जरुरी रहेको उल्लेख गरे ।

‘विद्यार्थीहरुलाई हामीले कितावका सैद्धान्तिक रुपमा तयार गरेर मात्र पुग्दैन, उनीहरुलाई कोर्षबाट बाहिर ल्याउने उपाय शिक्षकले अवलम्बन गर्नुपर्छ’ अध्यक्ष बिजुक्छेंले भने, ‘त्यसका लागि शिक्षकले कोर्स सकिएपछि पनि हरेक दिन नयाँ विषय र सन्दर्भबारे कक्षा सञ्चालन गर्नुपर्छ ।’

उनले वर्तमान सरकारको आलोचना गर्दै आफूलाई कम्युनिष्ट भने पनि सरकार कम्युनिष्ट नभएको र सो अनुसारको चरित्र नदेखाएको पनि बताए । आजका नयाँ पुस्ता नै भोलि देशको शासन व्यवस्थामा पुग्ने व्यक्ति हुने भएकाले अहिलेदेखि नै विद्यार्थीलाई देशप्रेमको भावना दिनुपर्नेमा पनि उनको जोड थियो ।

कार्यक्रममा सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल शिक्षक महासंघ नेपाली शिक्षकहरुको महासंघ नभएर सरकारमा गएका दलहरुलाई सहयोग गर्ने संघको रहेको बताउँदै उक्त संघबाट शिक्षकका समस्या समाधान नहुने बताए ।

उनले क्रान्ति भन्नु नै समाजवादको लागि तयारी गराउनु भएको उल्लेख गर्दै समाजवादी व्यवस्थाका लागि विद्यार्थीलाई तयार गर्ने काममा शिक्षकले नै अगुवाइ गर्नुपर्ने पनि बताए । सोही अवसरमा सचिव सुवालले देशको समसामयिक विषयका बारेमा शिक्षकहरुलाई जानकारी दिँदै वर्तमान सरकारले आफूले पाएको मतअनुसारको काम गर्न नसकेको बताए ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सिर्जना सैंजूले शिक्षक चिन्तनशील, लगनशील, इमान्दार हुनुपर्ने बताउँदै शिक्षकलाई बौद्धिक सिपाहीको संज्ञा दिए । उनीहरुले देशको हितका लागि काम गर्ने जनशक्ति उत्पादन गर्ने काममा शिक्षकले नै भूमिका खेल्नुपनर््ेमा पनि जोड दिए ।

आयोजक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्य, नेमकिपा भक्तपुर नगरका अध्यक्ष नारायणबहादुर दुवाल, नेमकिपा मण्डन देउपुर नगरपालिकाका कृष्णबहादुर तामाङ, नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य पवित्राकुमारी शाही, केन्द्रीय सदस्य प्रितमबहादुर तामाङलगायतले पनि शिक्षकका मुद्धाबारे बोलेका थिए ।

Loading...

Leave a Reply