दोलखा जिल्ला सहकारी एकरुपता प्रणाली र सहकारी पर्यटनमा नमूना जिल्लाको रुपमा परिचित

माघ–२५, दोलखा
सहकारी विभागका रजिष्ट्रार शिव कुमार कार्कीले दोलखा जिल्ला सहकारीकै नमुना जिल्ला र सहकारी पर्यटन क्षेत्रयुक्त जिल्लाको रुपमा परिचित भएको बताउनुभएको छ ।

नेफ्स्कून फिल्ड कार्यालय दोलखाको आयोजनामा शुक्रबार दोलखामा सम्पन्न सहकारी एकरुपता प्रणाली कार्यान्वयन तथा आगामी कार्ययोजना निर्माण कार्यशाला गोष्ठी उद्घाटन समारोहमा बोल्दै रजिष्ट्रार कार्कीले सहकारीहरु सिद्धान्त र नियम संगत चलेकै कारणले आज दोलखा जिल्ला सहकारीको नमूना जिल्ला बन्न लायक रहेको बताउनुभएको हो । उहाँले कतिपय सहकारीहरु सिद्धान्तमा नचलेका कारण भगौडा र खारेजी हुनुपरेको अवस्थाको विश्लेषण गर्दै दोलखाको सहकारी विकासमा सहकारी अभियन्ताहरु र नेफ्स्कूनको महत्वपूर्ण योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो ।

दोलखालाई एकरुपता प्रणालीको नमूूना जिल्ला बनाउने कार्यक्रम अन्तरगत गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु (CURBS, PROBATION, ACCESS) मा आवद्ध ५३ वटा र नयाँ ४ वटा संस्थाका अध्यक्ष, व्यवस्थापक/प्रतिनिधिहरुको सहभागितामा एकरुपता प्रणाली कार्यान्वयन समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला आयोजना गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत र अन्य अतिथिहरुमा जिल्ला बचत संघ दोलखाका अध्यक्ष जीवस राज खड्का, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले दोलखा जिल्ला सहकारी क्षेत्रको अनुशासित र सक्रिय जिल्ला रहेको बताउदै यस जिल्लालाई नमूना बनाउन सञ्चालित कार्यक्रममा परेका समस्या अप्ठयाराहरुलाई सहजीकरण गर्न नेफ्स्कून सदैव तयार रहेको र स्थानीय निकाय वा अन्य सरोकारवाला निकायमा समन्वय गर्न समेत संघ लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले बचत तथा ऋण सहकारीहरुमा नीतिमा एकरुपता, काम गर्ने आन्तरिक विधिमा एकरुपमा र सवै एउटै प्रविधि (सफ्टवयर) मा आधारित भएर काम गर्ने वित्तिकै सबै सहकारीहरुमा सुशासन कायम हुने बताउनुभयो ।

सहकारी एकरुपता प्रणाली कार्यान्वयनका सम्बन्धमा जिल्लाका सहकारी संस्थाहरुमा हाल सम्ममा भएको प्रगती विवरण प्रस्तुतीकरण तथा योजना निमार्णमा सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । एकरुपता प्रणाली अन्तरगत सहकारीका निर्धारित सूचकहरुमा धेरै सूचकहरु पुरा भईसकेका तर नीति निर्माण र विनियम संशोधनको विषयमा तत्काल सुधारको आवश्यकता रहेकोहुँदा यही चैत्र मसान्त सम्म सबै काम पुरा गर्नुपर्ने विषयमा संस्थाका सहभागी प्रतिनिधिहरुले ऐक्यवद्धता जाहेर गरेका थिए ।

दोलखा जिल्ला बचत संघका अध्यक्ष जीवस राज खड्काले जिल्ला बचत संघ जिल्लाका सबै सहकारीलाई गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध गराउन लागि परेको बताउनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले दोलखा जिल्लाको समग्र सहकारी अभियानलाई सफल गराउन र सहकारी पर्यटनलाई विकास गराउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै नेफ्स्कूनका सञ्चालक सदस्य एवम् फिल्ड कार्यालय उपसमिति संयोजक उद्धव सापकोटाले दोलखा जिल्लालाई नमूना जिल्लाको रुपमा स्थापित गर्न र गुणस्तर सुनिश्चिततालाई निरन्तरता दिन हर समय तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय दोलखाका इन्चार्ज समिट खड्का र व्यवस्थापकीय सहयोग कार्यक्रम अधिकृत सचिन भट्टराई र सोविता मैनालीले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply